सगीत प्रेमीहरुका लागि कुमार कान्छा अनौठो नाम होइन । उमेरले ४९ वर्षका यि गायक कलकत्ताको चिढियामोडमा जन्मेका हुन । बावु मनु शाह र आमा तुलसी देबी दैलेखको बाँसी स्थित पुख्र्यौली घर छाडेर कलकत्ता झरेका थिए । भारतमै जन्मे-हुर्केका भएपनि गायक कान्छाले नेपाली संगीतमा गरेको योगदान चानेचुने छैन । १ सय ५० भन्दा बढि नेपाली चलचित्र उनको स्वरले सजिएका छन् । नेपाली चलचित्र ‘लाहुरे’बाट उनले अभिनयमा पनि पाइला चालेका थिए ।

दर्जनौं भारतिय चलचित्रका गीतमा समेत उनको स्वर छ । उनै गायक कान्छासँग फिल्मनेपाल डटकमका लागि मुम्बईमा बिरेन्द्र पौडेलले गरेको कुराकानी संक्षेपमा :-
गायनमा कहिलेदेखि लाग्नुभएको हो ?
सानैदेखि लागेको हुँ । अहिले त संगीतको एक प्रकारको भक्त नै बनेको छु ।
गाउने प्रेरणा कोबाट कसरी पाउँनुभयो ?
मेरो आमाको रुचि संगीतिर ढल्केको थियो । पुर्सद पायो कि आमा गीत सुन्नुहुन्थ्यो, गुनगुनाउनुहुन्थ्यो पनि । सानै उमेर।मा आमाबाट यो रुचि ममा सर्यो । उ बेला खासगरी लता मंगेशकरको गीत सुनिन्थ्यो । लताजीको स्वरबाट नै म प्रभावित र प्रेरित भए ।
गाउनैका लागि औपचारिक-अनौपचारिक कुनै शिक्षा लिनु भो ?
स्कुले उमेरमा अरुले जस्तै गरि सिकियो । उ बेला पनि स्कुल-स्कुलमा संगीत सिकाउने चलन थियो । पछि ब्यबसायिक सोच राखेर केही समय तुलसी भट्टाचार्यसंग सिके । अहिले पनि उस्ताज सुल्तान खानसंग सिक्दै छु ।
तपाई अभिनयबाट गायनतिर लाग्नु भएको हो भन्ने पनि सुनिन्छ नि । कुरो सांचो हो ?
हैन, अभिनय भन्दा पहिला “आमैले भन्थे धाराको पानी” भन्ने गीत गाएको थिए । त्यस पछि ‘लाहुरे’ नामक नेपाली चलचित्रमा अभिनय गरेको हुँ ।
अभिनय र गायन मध्ये कुनलाई प्राथमिकता दिनुपर्छ भन्ने ठान्नुहुन्छ र किन ?
अभिनयकला हामी सवैजसोमा हुन्छ । तर, गायनकला भन्ने सवैमा हुदैन । मेहनतका हिसाबले पनि गायन अल्लि बढि नै संघर्ष गर्नुपर्ने क्षेत्र हो । त्यसैले मैले गायनलाई नै अगाडी बढाएको हुं । संजोग पर्दा अभिनय पनि गर्न सकिन्छ ।
तपाईको पहिलो गीत कुन हो ?
रेकर्डका हिसाबले “पहाडको डाँडाकाँडा हरीयाली छायो……’ भन्ने गीत नै मेरो पहिलो गीत हो । चलचित्रमा चाँही ‘आमैले भन्थे धाराको पानी….’भन्ने चलचित्र साइनोको गीत हो । जसमा रञ्जीत गजमेरले संगीत दिनुभएको छ ।
तपाई देश भन्दा टाढा रहेर पनि नेपालीहरुकै मनभित्र स्थापित हुनुहुन्छ, । नेपालमै बसेर गीत संगितमा लागेको भए अझ सफलताको उचाई चुम्थे जस्तो लाग्दैन ?
म त नेपाललाई असाध्यै माया गर्छु । मलाई लाग्छ, मैलै अझ धेरै सिक्नु छ । तर, यो ठाउँ गीत-संगीतको महासागर नै भएकोले यसैमा पौडी खेल्दै छु । साथमा नेपाली माया त छँदै छ । यहाँ बसिरहने रहर चाँही हैन ।
प्रवासमा बसेर संगीतमा संघर्षरत हुनुहुन्छ । नेपाली भएकैले कहीँ कतै अरुभन्दा पछाडी पर्नुपरेको त छैन ?
संगीतमा देश र सिमाको छेकबार हुँदैन । कला र संगीतमा जमेपछि जुनसुकै जात वा देशको भए पनि फरक पर्दैन भन्ने मेरो ठम्याई छ ।
नेपाली, हिन्दी, बंगाली, भोजपुरी लगायत दर्जनौ भाषामा गीत गाईसक्नुभयो । कुन भाषामा गाउँदा बढि आनन्दको अनुभुति भयो ?
संगीतको निश्चित भाषा हुदैन, यसमा आनन्दै-आनन्द हुन्छ । यद्यपी मातृभाषा नै नेपाली भएकोले नेपाली अलि बढि मेरो प्राथमिकतामा छ ।
तपाईको बिचारमा संगतिको प्रयोग कसरी गरिनुपर्छ ?
संगीत साधना हो, भक्ति हो । एकथरीले साधना हैन साधन बनाईरहेका छन्, कमाउने भाँडो बनाएका छन्-ब्यपार जस्तै ।
आर्थिक हिसावले गायनमै लागेर जीउन कत्तिको सजिलो छ ?
सजिलो त छैन । तर आफ्नो इच्छा पुरा गर्दा केही अभाबसँग सम्झौता त गर्नैपर्छ । जे होस, आनन्द लाग्छ । अरुलाई पनि यस्तै लाग्छ होला ।
। यहाँ जाउँ यसो गर भनेर सल्लाह दिन्छु ।
एकल आवाजमा कति एल्बम निकाल्नुभो ?
एकल स्वरका दुईवटा एल्बम छन् । ‘गोरेटो’ र ‘दोवाटो’ । नतिजा राम्रो आयो । अहिले ‘गाउको गोरेटो’ नामक एल्बमको तयारीमा छु ।
अहिलेसम्मको जीवन संगीतमै खर्चिनु भो । यदि यता नलागेको भए आज कुमार कान्छा के हुन्थ्यो होला ?
लाग्छ- म जन्मिएकै गीत गाउनका लागि हो । यो भन्दा बाहिर अर्को संसार नै देख्दिन । यदि मलाई कसैले ल प्रधानमन्त्री बन् भन्छ भने ‘प्रधानमन्त्री हैन, बरु मलाई एउटा गीत देउ न भन्छु,’ ।
यति लामो संगति यात्रामा तपाईले गर्न खोजेर पनि खड्कीरहेको कुरा के हो ?
धेरै गायक गायिकासँग काम गरिसके । तर, जसको गीत सुनेर यो ठाउँसम्म आउन प्रेरित भए । उनै लता मंगेस्करसंग गीत गाएको छैन । त्यो मेरो ठुलो ईच्छा हो ।
एक दशक अगाडी तपाईले नेपाली चलचित्रमा धेरै नै गाउनुभयो । तर, अहिले उस्तो छैनन् नि किन हो ?
अहिले त चलचित्र क्षेत्रमै मन्दी छ । पहिले गीत गाउन म अाफै पनि जान्थे त कोही गाइदेउ भन्न यहाँ आउथे । तर अहिले त्यो छैन ।
नेपाली कार्यक्रम भनेपछि ठुलो-सानो जस्तोमा पनि नहिचकिचाई जानुहुन्छ । के ले प्रेरीत गर्छ यस्ता कार्यक्रममा जान ?
धेरै पहिलादेखि हामीले मुंबईमा सानातिना कार्यक्रम गर्दै आएका छौं । दर्शक सहभागिता थोरै हुँदा पनि मैलै गाएको छु । यस्ता कार्यक्रममा आजकल दर्शकको सहभागीता बढ्दै छ । संगति मार्फत नै दुःख सुखका मुरा बाढ्ने मौका यस्तै कार्यक्रम त हुन ।
गायनमा पाइला टेक्न तपाईको सहयोग माग्नेलाई के भन्नुहुन्छ ?
गायक-गायिका बन्न चाहनेसँग पहिलो कुरा स्वर हुनुपर्यो । स्वर भएपछि अन्य कुरा सिक्न सकिन्छ । जो केही गायनमा आउन मेरो सहयोग माग्छन् भने जानेका, भोगेका कुरा बताईदिन्छु
अहिले नेपाली संगीतमा विकृती पनि बढ्दैछन् । स्वर नभएपनि पैसा भएपछि एल्बम निकाल्ने । अर्कोतिर स्वरका धनीहरु आर्थिक अभावमा पछाडी पर्नुपर्ने । यसमा तपाईर् के भन्नुहुन्छ ?
खासमा जुन एल्बम स्तरिय छ उसले मात्र श्रोताको मन जित्छ । कसैले जवरजस्ती सुन भनेर सुनिने हैन । राम्रो स्वरहुनेलाई यसले उस्तो प्रभाव पार्दैन ।
एउटा प्रवासीका नाताले सबै प्रवासी नेपालीलाई के भन्न चाहानुहुन्छ ?
जहां हामी बस्छौ त्यहीबाट सुरु गरौं । आफ्नो घर सुघारौ, त्यसपछि समाज, शहर, जिल्ला, र देश बनाऔ । प्रवासका नेपालीबीच आपसमा मित्रता राख्न सक्नु पर्छ । नेपाललाई पनि हरपल सम्झनै पर्छ ।
अन्तमा भन्न बाँकी केही छ की ?
म जे गरिरहेको छु, मेरा श्रोताहरुको लागि यो भन्दा बढि गर्न पाउँ ।